घर नजिकै सार्वजिक धारो थियो।
मेरा छिमेकीले माटोको घैँटो थापे। र, नजिकैको घरमा छिरेर गफ गर्न थाले।
एउटा सानो बालक, लगभग नाङ्गै (कम्मर मुनी केही थिएन, कम्मर माथी टाँक नभएको सर्ट) गिलास लिएर आयो, घैँटो भरिएर पोखिएको पानी गिलासमा थाप्यो, र पियो।
ती छिमेकीले देखे। घैँटो बोके। नजिकैको उसको परिवार बस्ने (आफ्नै घर थिएन) घरमा गए।
भरिएको घैँटो आँगनमा बजारे र भने- “तँलाई डाङ्ग्रा। तेरा सन्तानलाई ठेगान लगाएर राख।“
मैले यो दृष्य निकै नियालेर हेरिरहेँ।
साहेद म १४-१५ वर्षको थिएँ। दलितका नाममा सामाजिक विभेद देखे पनि सारै मन छोएको दोश्रो घटना थियो यो।
मलाई निकै छटपटी भयो। घरमा आएँ र वुवालाई सबै सुनाएँ।
मेरो एउटै चासो थियो- बाउलाई त थाहा थियो, कामी हुँ भन्ने, त्यो बालकलाई के थाहा? हामी त्यत्ती पनि संवेदनशिल हुन सक्दैनौँ वुवा? हाम्रो धर्ममा अवोध बालककले क्षमा पाउँदैन? त्यो बच्चा अपराधी हो त?
वुवाको एउटै र अपरिवर्तित जबाफ थियो- यो पूर्व जन्मको फल हो!
मैले पत्याईन। न पत्याएरै गए दिनहरु। मेरो मानसपटलमा त्यो अवोध वालकको अनुहारको अमिट छाप अझै छ।
जिन्दगीले एउटा पाठ पढाएको दिन थियो त्यो।
ग्लानी त आजकल हुन्छ।
साहेद न पत्याउँदाका दिनहरुमा नै केही गर्न सकिन। सकेको भए आजसम्म पनि न पत्याउने तर केही गर्न नसक्ने लाचार मानसिकताले जरो गाड्न सक्ने थिएन!
(संझेर लेखेको मितिः २०७५/९/२८। शुक्रवार। बुढानिलकण्ठ)