भेदभाव

अर्चल्यानी (लमजुङ्ग) मा घर।

कति कक्षमा पढ्थेँ, यकिन गर्न सकिन।

स्कूल नजिकै एउटा पसल थियो।

पिपलगेडी, सुन्तला मिठाई, खाजा बिस्कुटका अतिरिक्त मलाई सारै मन पर्ने नरिवल र मिश्री।

एक दिन पसलका साहुजी माईलादाईले नरिवल फुटाले।

म लगायत मेरा साथिहरुले सुका, मोहर, रुपियाँ जति छ, किन्यौँ।

घण्टी लाग्यो। खाँदै कक्षाभित्र छिर्‍यौँ।

पाँचौँ पिरिएडका गुरु आए।

धेरै जसोले मुख चलाएको देखेर रन्किँदै ‘के खाएको’ भनेर सोधे।

मैले भने- नरिवल। सबैलाई उठाए।

अव कुटाई खाने भईयो क्यारे भनेर थरथर हुँदै थिएँ।

गुरु त खितिखितिखिति हाँस्ने पो थाले।

तिमीहरुलाई थाहा छैन? त्यो पसल त कामीको हो। नरिवलको सिंगै गेडो किनेर खाँदा केही हुँदैन। तर काटेपछि त छोईन्छ। थुक्क मोरा हो, छोईएको खाईस्।

गुरु फेरी एक रन्को हाँसे।

सबै साथीहरु बाहिर निक्ले र ओकले। थु थु गर्दै भित्र छिरे।

नरिवल सिङ्गै नछोईने, काटे छोईने। मेरो माथ रन्थनियो।

मनले पत्याएन।

मैले के सोचेँ, थाहा छैन। तर नरिवल ओकलिन।

साथीहरुले जिस्काए। म चुपचाप बसिरहेँ।

जिन्दगीमा जातीय भेदभावको देखेको/अनुभव गरेको यो पहिलो पटक थियो।

मलाई त्यो घटना यति असहज लाग्यो की, बिर्सनै सकिन।

जिन्दगीले एउटा पाठ पढाएको दिन थियो त्यो।

यो घटना अझै मेरो मानसपलटमा यति ताजा छ की, झण्डै ३४ वर्षपछि २०७४ असोजमा लमजुङ्ग जाँदा त्यहीँ पुगेर फोटो खिचेँ।

सोधेको- अझै उनैकै पसल रहेछ। साहुजी चाहीँ छोराहरु।

(२८ वैशाख२०७५ । बुढानिलकण्ठ)

(अर्चल्यानी, संस्कृतिसदन मा.वि नजिकै)

Leave a Reply

Your email address will not be published. Required fields are marked *