अर्चल्यानी (लमजुङ्ग) मा घर।
कति कक्षमा पढ्थेँ, यकिन गर्न सकिन।
स्कूल नजिकै एउटा पसल थियो।
पिपलगेडी, सुन्तला मिठाई, खाजा बिस्कुटका अतिरिक्त मलाई सारै मन पर्ने नरिवल र मिश्री।
एक दिन पसलका साहुजी माईलादाईले नरिवल फुटाले।
म लगायत मेरा साथिहरुले सुका, मोहर, रुपियाँ जति छ, किन्यौँ।
घण्टी लाग्यो। खाँदै कक्षाभित्र छिर्यौँ।
पाँचौँ पिरिएडका गुरु आए।
धेरै जसोले मुख चलाएको देखेर रन्किँदै ‘के खाएको’ भनेर सोधे।
मैले भने- नरिवल। सबैलाई उठाए।
अव कुटाई खाने भईयो क्यारे भनेर थरथर हुँदै थिएँ।
गुरु त खितिखितिखिति हाँस्ने पो थाले।
तिमीहरुलाई थाहा छैन? त्यो पसल त कामीको हो। नरिवलको सिंगै गेडो किनेर खाँदा केही हुँदैन। तर काटेपछि त छोईन्छ। थुक्क मोरा हो, छोईएको खाईस्।
गुरु फेरी एक रन्को हाँसे।
सबै साथीहरु बाहिर निक्ले र ओकले। थु थु गर्दै भित्र छिरे।
नरिवल सिङ्गै नछोईने, काटे छोईने। मेरो माथ रन्थनियो।
मनले पत्याएन।
मैले के सोचेँ, थाहा छैन। तर नरिवल ओकलिन।
साथीहरुले जिस्काए। म चुपचाप बसिरहेँ।
जिन्दगीमा जातीय भेदभावको देखेको/अनुभव गरेको यो पहिलो पटक थियो।
मलाई त्यो घटना यति असहज लाग्यो की, बिर्सनै सकिन।
जिन्दगीले एउटा पाठ पढाएको दिन थियो त्यो।
यो घटना अझै मेरो मानसपलटमा यति ताजा छ की, झण्डै ३४ वर्षपछि २०७४ असोजमा लमजुङ्ग जाँदा त्यहीँ पुगेर फोटो खिचेँ।
सोधेको- अझै उनैकै पसल रहेछ। साहुजी चाहीँ छोराहरु।
(२८ वैशाख२०७५ । बुढानिलकण्ठ)
(अर्चल्यानी, संस्कृतिसदन मा.वि नजिकै)
