मेरो रवीन्द्र छोरो

चड्की पड्क्यो सगर बिजुली बल्न थाल्यो विमान,
हेर्दाहेर्दै दश रहरिला ज्यानको भो चिहान ।
भ्वाँसा बेथान् दनदन बल्यो दौडँदै गाउँवासी
पुग्दा पुग्दै शिव ! शिव ! हरे मेटियो नामराशि ।।

जन्मेथ्यौ यै धरणितलमा सास आकाश फेर्दै,
उड्दा उड्दै गगनविचमा स्वर्ग ताकेर हेर्दै ।
ऐ®या आमा ! अति सकस भै बोल्न वाक्यै फुटेन,
एकै घुड्को जल सरसिलो प्यूँनलाई जुटेन ।।

प्यारो तिम्रो पृथुल भतिजो मार्ग हेर्दै छ नित्य,
कान्छा बाको खबर नहँुदा आँसु झार्दैछ नित्य ।
आमा रून्छिन् भलभल यहाँ आँसुको भेल बग्छ,
भो भो भन्दा पनि कठिन भो रोकिँदो कण्ठ सुक्छ ।।

लेख्ने कापी कलम सब छन् पढ्नलाई किताब,
कानूनी छन् हरफ सबको गर्नलाई निसाफ ।
छाया घुम्दो नयनपटमा बिर्सनै हुन्छ गाह्रो,
मात्रै छैनौ मुटुरगतको धुक्धुकी पुत्र प्यारो ।।

जन्मेका हौ लमजुङ उही बाबुबाजे थलामा,
खेली हुक्र्याै नवलपुरका फाँटका ती खलामा ।
अंग्रेजी औ विधिविषयमा डिग्रिको लक्ष्य राखी,
पढ्दा पढ्दै सुरपुर गयौ सम्झना शेष राखी ।।

आए सारा हितजनहरु नेत्र नै टिल्पिल्याई,
बिर्सी द्यौ भो नहुनु भइगो भन्दछन् अल्मल्याई ।
मेरो राजा रवि म कसरी बिर्सनै आज सक्छु ?
मेरो आत्मा रवि ! शिवसँगै नाम तिम्रै म जप्छु ।।

श्रद्धा मेरो कुश र जलले अन्नले पिण्डमाथि,
दिन्थ्यौ आफंै मकन रवि हे पितृमा भक्ति राखी ।
यो उल्टो भो भन त कसरी पुत्रको श्राद्ध गर्नु,
जे भो मेरै शिव ! शिव ! हरे ! अन्त यस्तो नगर्नू ।।

बाटो लाग्ने तरखर थियो चन्द्रमा पूर्णिमाको
प्रातःसन्ध्या रवि–उदयको दिन्छ झल्को उषाको ।
त्यै बेलामा शशिकिरणले चप्प चुम्दै गरेको,
व्यर्थै भो यो रवि शिव ! हरे ! गर्भबाटै झरेको ।।

प्यारो छोरो गुणगण सबै स्वर्गबाटै भरेको,
गोरो अग्लो कद छ छरितो रुप राम्रो मिलेको ।
अर्घेलो क्यै अलिक नगरी बित्नगो बाल्यकाल,
राम्रो पढ्दै युवक गतिलो देखियो चालढाल ।।

मर्यादामा अलिकति कतै खोट लाग्नै हुँदैन,
संस्कारैमा दृढ बनि अडे दाग कालो छुँदैन ।
यै आस्थाले हृदय रसिलो प्यार गर्थे सबैले,
यो यस्तै हो भनिकन कतै भन्दथ्यो वा कसैले ।।

बाँचेसम्मै धुरूधुरू सदा सम्झिसम्झी रूनेछु,
यो बेला गो, तन बदलिए बाबु तिम्रै हुनेछु ।
छोरो गै गो, भुवन सब नै देख्छु सुन्सान आज,
छाडूँ क्यारे अब त कविता लेख्न लाग्यो विराग ।।

धिक्कारै हो तनुजसँगको भेट यत्ती रहेछ,
जन्मैको सो दिन समयको भाग्य खोटी रहेछ ।
माया लाग्दो वदन हँसिलो अग्निले नै जलायो,
तातो पायो अनि त सहजै आर्यघाटै निदायो ।।

लामो निद्रा अब रवि सुत्यो ब्यूँझने यत्तिकै हो,
प्यारो छोरो रवि ! रवि ! भनूँं सम्झने यत्ति नै भो ।
रोएका यी रविकिरणले चित्त मेरो बुझाऊन्,
झम्के साँझै सगर बिचमा दिव्य तारा उदाऊन् ।।
।।१६।।

(शोककाव्य “आँसुको धारा” बाट । देवेन्द्र प्रसाद खनिया । २०७४ बुढानिकण्ठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *